
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक कुमार सिंहले बुद्ध एयरको जहाज को पाङ्ग्रा खसेको विषयमा जाँचबुझ आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति समेत रहेका सांसद सिंहले जहाजको पाङ्ग्रा खसेकोबारे जाँचबुझको माग गरेका हुन् । ‘हिजो भर्खर बुद्ध एयरको पाङ्ग्रा खस्यो, एउटा पाङ्ग्राको भरमा काठमाडौंमा विमान ल्यान्ड गराइयो । यसबारे जाँचबुझ आयोग गठन गरियोस् भन्ने माग राख्न चाहन्छु’, सांसद सिंहले भने ।
बिहीबार जनकपुरबाट काठमाडौं उडेको बुद्ध एयरको विमानको अगाडिको पाङ्ग्रा खसेको घटना सार्वजनिक भएको थियो । उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बताइएको छ। विमानमा ६२ यात्रु थिए। अगाडिका दुईमध्ये एक पाङ्ग्रा नदेखिएपछि सोधखोज गर्दा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको पछि मात्र थाहा पाएको, भन्ने बताए।

