
हेटौंडा । हेटौंडामा राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सातौँ सहिद स्मृति स्थानीय तह महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको हो। अघिल्लो संस्करणहरूमा पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको संघले सातौँ संस्करण भने राष्ट्रिय महिला गोल्डकपका रूपमा अगाडि बढाउन लागेको हो।
संघले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महिला फुटबलको विकास र क्रेज बढेसँगै प्रतियोगिता आयोजना गर्न लागेको दाबी गरेको थियो। वैशाख १९ गतेदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित पाँच वटा जिल्लाका क्लबले सहभागिता जनाउनेछन्।
नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी (एपीएफ) सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरी आठ वटा क्लबले सहभागिता जनाउने फुटबल संघ मकवानपुरका सचिव छवी सुवेदीले जानकारी दिए। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ।प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ। प्रतियोगिताको प्रायोजकका रूपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ–संस्था रहेका छन्।
समयमै हिसाब–किताब सार्वजनिक नगरेसँगै स्थानीय तहले उपलब्ध गराउँदै आएको रकम कटौती गरेपछि संघले बाध्य भएर महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

