
हेटौंडा । हेटौंडाको तिन वटा वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन गरिएको छ । बुधबार बिहान हेटौंडाका मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँले संयुक्त रुपमा हेटौंडा ७ र ८ जोड्ने र हेटौंडा ८ मा रहेको कल्भर्ट पुलको उदघाटन गरेका हुन् । कल्भर्ट पुल हेटौँडा–नागस्वती–हटिया सडक खण्डअन्तर्गत हेटौँडा ६ र ७ जोड्ने हरियालीमा रहेको खहरे र वडा नम्बर ८ ओमनगरस्थित खहरेमाथि निर्माण गरिएको छ। वडा नम्बर ६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल उपमहानगरपालिकाको एक करोड १९ लाख र वडा नम्बर ८ मा रहेको १४ मिटर लम्बाइको पुल प्रदेश सरकारको ८२ लाख ३ हजार ९८६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
लामो समयदेखि पुलको अभावमा वर्षायाममा समस्या खेप्दै आएका सर्वसाधारणलाई अब राहत हुने भएको छ । कल्भर्ट पुलको उद्घाटन गर्दै प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकाले नगरको शिक्षा, स्वास्थ्यसँगै आवश्यकताको आधारमा विकास निर्माणलाई पनि प्राथमिकतामा राखेको बताइन् ।
