हेटौंडा । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
संयुक्त बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सांसदहरूलाई दिउँसो २:४५ बजेभित्र आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ ।
बैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।
वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
संघीय संसद्को आजको बैठक राजनीतिक तथा आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण हुने विश्लेषण गरिएको छ। आगामी बजेटको दिशानिर्देशकका रूपमा समेत आज सार्वजनिक हुने नीति तथा कार्यक्रमलाई हेरिएको छ।






















