हेटौंडा । विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुरमा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टोलीलाई ७–० गोलले हराउँदै पुलिस उपाधिसम्म पुग्ने नजिक पुगेको हो। पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । मिनाले खेलको २१ औं, ४० औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
निर्माले ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।फाइनल प्रवेश गरेको पुलिस उपाधिका लागि बिहीवार विभागीय टोली एपिएफ र संकटा क्लबबीचको विजेतासँग भिड्नेछन् । एपिएफ र संकटाबीचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।






















