हेटौंडा। यही जेठ १० गतेदेखि त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा नौबिसे सडक खण्ड आंशिक रूपमा बन्द हुने भएको छ। जेठ १० गतेदेखि २५ गतेसम्म सडक बन्द हुने भएको हो। वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको हो ।
सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिएका छन। नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।
त्यसैले विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।






















