पुलहरुको क्षमता वृद्धि र मर्मत सम्भार गर्न नारायणी यातायात व्यवसायी कम्पनीको माग

हेटौंडा टुडे
२०८२ जेष्ठ ८, बिहीबार १९:३१ गते

हेटौँडा । नारायणी यातायात व्यवसायी कम्पनी प्रा लि ले पुलहरुको क्षमता वृद्धि र मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पूर्व पश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका सवारी साधनका कारण पुल भाँचिने र राजमार्ग नै भासिने घटना बढेको भन्दै उक्त व्यवसायी कम्पनीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले ओभरलोडका कारण दुर्घटना बढेको र जनताले मार खेप्न बाध्य भएको जानकारी दिए । पुल भाँचिने र सडक भासिने समस्याले सार्वजनिक यातायातमा ठूलो समस्या उत्पन्न भई यात्रु तथा मालवाहक सवारी साधनले अनावश्यक झन्झट भोग्नुका साथै आर्थिक क्षति भइरहेको उनले बताए ।उनले नारायणी यातायात कम्पनी प्रालिले पुलहरूको क्षमता वृद्धि र मर्मतसम्भार, भारवहन क्षमताको कडाईका साथ पालना, तौलपुलले कडाईका साथ ओभरलोडको नियन्त्रण गर्नुपर्ने माग अघि सारेको बताए । राजमार्ग सुरक्षा, जनचेतना अभिवृद्धि गर्नुपर्ने कम्पनीको माग रहेको छ । नेपाल सरकारले पूर्ण रुपमा ढुवानीमा मूल्य अभिवृद्धि कर लागू गरेपनि सो निर्णय प्रभावकारी कार्यान्वयन नभएको उनको भनाई छ ।

यस्तै, कम्पनीका कार्यकारी सञ्चालक माधव अधिकारीले ट्राफिकले समेत ओभरलोडलाई बेवास्ता गर्ने गरेको भन्दै ठूलाबडाको गाडी भएकोले ट्राफिकले देखे नदेखे झैं गरेको गुनासो गरे । उनले भने, ‘ट्राफिकले समेत ओभरलोडलाई बेवास्ता गर्ने गरेको छ । ठूलाबडाको गाडी भएकोले ट्राफिकले देखे नदेखे झैं गर्छ ।’ यस विषयमा यातायात व्यवसायी महासंघमार्फत् सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको उनको भनाई छ । ओभरलोड गाडीलाई पुराना पुलहरूले थेग्न नसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*