राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमै जवाफ दिने

हेटौंडा टुडे
२०८२ जेष्ठ २१, बुधबार १०:४८ गते

हेटौंडा । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । राजीनामा नदिने पनि अडान दोहोर्‍याएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए ।

जहाँ विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए । जवाफमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरे । यसका निम्ति वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह गरे ।

समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए । तर मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताए । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।

मन्त्री लेखकले समिति बैठकमा भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’ गृहमन्त्री लेखकले आफूले संसदमा जवाफ दिँदा सबै सदस्यहरुको जिज्ञासा मेटिने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*