छाउगोठमा राख्नेलाई कारबाही गर्न सांसद सिंहको माग

हेटौंडा टुडे
२०८२ असार २९, आईतवार १४:५४ गते

हेटौंडा । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले छाउगोठमा राख्नेलाई कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमा सुतिरहेका बेला सर्पको टोकाइबाट मृत्यु भएको घटना अत्यन्त दुःखद् र लज्जास्पद भएको बताएका छन। अझै पनि कतिपय ठाउँ तिर छाउगोठमा राख्दै आएको छ। जस्ले गर्दा कति महिलाहरुको मृत्यु भएको छ।

‘मुलुकी अपराध संहिता २०७४ मा छाउपडी प्रथा गैरकानुनी छ,’ उनले भने, ‘तर अझै पनि सुदूरपश्चिममा महिलाहरूलाई छाउगोठमा राख्नुपर्ने अवस्था छ भने तीनै तहका सरकार के गरिरहेका छन्?’ सांसद सिंहले छाउपडी प्रथालाई ‘राष्ट्रिय कलंक’ को रूपमा व्याख्या गर्दै यसमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरे। ‘जसले यस्तो काम गरेका छन्, तिनीहरूलाई कारबाहीको दायरामा ल्याइएन भने यो लोकतन्त्रमाथिको चोट हो,’ उनले भने।

गत शनिबार महिनावारीको समयमा छाउगोठमा बसेकी कमलालाई सर्पले डसेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*