मकवानपुर प्रहरी द्वारा एक वर्षको विवरण सार्वजनिक : १६ करोड भन्दा बढीको अवैध कारोबार नियन्त्रण

हेटौंडा टुडे
२०८२ श्रावण ६, मंगलवार १५:४७ गते

हेटौंडा । मकवानपुर प्रहरीले एक वर्षको विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले विभिन्न अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन्।

प्रहरीद्वारा सार्वजनिक विवरणअनुसार, अपराध अनुसन्धानतर्फ १,०७५ वटा मुद्दा दर्ता भएका छन् भने ९२८ जना अभियुक्त पक्राउ परेका छन्।

लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गरिँदा २८९ जना पक्राउ परेका छन्। बरामद लागुऔषधमध्ये ६,००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट/ट्रामाडोल ट्याब्लेट, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम खैरो हेरोइन छन्। साथै, लागुऔषध ओसारपसारमा प्रयोग भएका ५५ वटा सवारी साधन पनि बरामद गरिएको छ।

प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको गाँजाको खेती र ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलमा रहेको अफिम खेती फडानी गरेको छ। यस अभियानमा ४२१ जना प्रहरी परिचालित भएका थिए।

अबैध रूपमा भन्सार छलेर ल्याइएको सामान र मुद्रा नियन्त्रणका क्रममा प्रहरीले १६ करोड १७ लाख ७४ हजार बराबरको सामग्री नियन्त्रणमा लिएको छ।बरामद सामग्रीमा ८ किलो ७३५ ग्राम सुन (मूल्य रु. १२ करोड १७ लाख), २ किलो १९६ ग्राम चाँदी (मूल्य रु. ३ लाख ६६ हजार), १० थान अबैध सवारी साधन (मूल्य रु. ७० लाख), र अमेरिकी डलर ३२ हजार तथा यूरो १४ हजार गरी करिब ६२ लाख ९० हजार बराबरको अवैध विदेशी मुद्रा समावेश छन्।

फरार १८३ जना अभियुक्त पक्राउ गरी ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ। साथै,१ करोड २१ लाख ७३ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ।

अबैध उत्खनन् विरुद्ध १९५ वटा सवारीसाधन (ट्रयाक्टर–१६२, टिप्पर–३१, स्काभेटर–२) नियन्त्रणमा लिइएको छ। यसबाट  ११ लाख १५ हजार ५ सय राजस्व संकलन गरिएको छ।

चालु वर्षमा ४०७ वटा सवारी दुर्घटना हुँदा ५० जनाको ज्यान गएको, १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ। सवारी नियम उल्लंघनमा ३० हजार ३४ वटा कारबाहीबाट २ करोड ४१ लाख ४५ हजारभन्दा बढी राजस्व संकलन गरिएको छ।
मापसेका ८४४ जना चालक कारबाहीमा परेका छन् भने लागुऔषध सेवन गरी सवारी चलाउने २१ जनाविरुद्ध मुद्दा चलाइएको छ।

सडक सुरक्षा, अपराध न्यूनीकरण र सामाजिक जनचेतनाका लागि प्रहरीद्वारा २,६१६ वटा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ, जसमा १ लाख ४५ हजारभन्दा बढी सर्वसाधारण सहभागी भएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, कानुनी कार्यान्वयनमा प्रतिबद्धताका साथ प्रहरीले सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने गरी कार्य अगाडि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*