हेटौंडा । हेटौंडा काठमाडौं जोडने छोटो दुरीको भैसे-भिमफेदि-कुलेखानी काठमाडौं सडक खण्ड अन्तर्गत कुलेखानी जलाशयको ड्याम मुनि सिमखोलामा बेलिब्रिज निर्माणको कार्य सुरु भइरहेको छ।
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडान कार्य तीव्र बनाइएको हो । वर्षा अघि नै सञ्चालनको योजना बनाइएको उक्त बेलिब्रिज पूर्वतयारीका काम गर्न केही ढिलाई भएपनि साउन अगावै काम सक्ने तयारी रहेको छ । दक्ष जनशक्ति र आवश्यक उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम भइरहेको जनाएको छ ।
पहिले भएको पुलको दायाँ बायाँ अर्थात पहुचँ मार्ग नै बगाएकोले राख्न लागीएको हो। सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डु खोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको छ। सिमखोलामा ६० मिटर लामो बेलिब्रिज हाल्नु पर्ने भएकोले २ वटा बेलिब्रिज झिकेर ल्याइएको पुर्वाधार निर्देशनालयले जनाएको छ । साउनको १५ गते भित्र नै बेलिब्रिज हालेर सवारी साधन आउजाउ गराउने लक्ष्यका साथ काम भइरहेको र हालसम्म पुल निर्माणको ८० प्रतिशत काम भएको जनाएको छ । निर्माण व्यवसायीको तर्फबाट पनि साउन १५ मा काम सक्ने गरी प्रतिबद्धता आएको र सोही अनुसार संचनलनको तयारी गरिएको बताइएको छ।
बागमति प्रदेश सरकारले सिमखोलामा बेलिब्रिज निर्माणका लागि ठेक्का आवहान गरेको थियो । यातायात पुर्वाधार निर्देशनालय हेटौंडा मार्फत सो पुलको निमार्णको ठेक्का आवहन भएको थियो। बेलिब्रिज निर्माणका लागि निर्देशनालयले १६ फागुन २०८१ मा टेण्डर आवहान गरेको थियो । बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले एक करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको छ । उक्त कम्पनीले गत वैशाखदेखि काम थालेको र बढीले क्षति पुगेका स्थानमा पहुँच मार्ग निर्माणका लागि प्लम्प वाल लगाउने, बाँध सहितको मेसिनरी वाल निर्माण, बेलिब्रिजको लागि बेस निर्माण लगायतको काम सम्पन्न गरेको भइसकेको छ ।
भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसंगै सडक क्षतिग्रस्त बनेको थियो । सिमखोलाको पुलमा क्षति पुगेसँगै हेटौँडा काठमाडौँ जोड्ने उक्त सडक सञ्चालनका लागि खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।


















