वर्षाले कालीगण्डकी करिडोर अवरुद्ध

हेटौंडा टुडे
२०८२ श्रावण १८, आईतवार १६:४० गते

हेटौंडा । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरेमा सडकमाथिबाट ठूला चट्टानसहितको पहिरो खसेपछिआज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध भएको छ। सो सडकअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै वाग्लुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन बीच बाटोमा रोकिएका छन्। अवरुद्ध सडक सञ्चालन गर्न प्रहरीले जोहाङ्ग खैरेनी र पूर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाउँदै उनले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बताए।

जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाको समयमा खोला र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक स्थानीयलाई लामो यात्रामा ननिस्कन सूचित पनि गरेको छ।

त्यसैगरी शनिबार अपराह्नदेखि परेको अविरल वर्षका कारण बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै गएकाले उच्च सतर्कता अपनाउन समितिले सबैमा अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*