पहिरोले कालीगण्डकी करिडोर र केचना-कञ्चनजंघा सडक अवरुद्ध, यातायात ठप्प

हेटौंडा टुडे
२०८२ श्रावण २८, बुधबार ११:४३ गते

हेटौंडा । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चट्टानसहितको भीषण पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि रोकिएको छ ।

करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै पश्चिम चल्ने सबै सवारीसाधन चल्न सकेका छैनन् । सोही बाटो हुँदै उत्तर मुस्ताङसम्म चल्ने सवारीसाधन पनि बाटोमा रोकिएका छन् । भैरहवाबाट सामान बोकेर आएका मालबाहक ट्रक पनि कालाखोलामा रोकिएका प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम बिकका अनुसार, निरन्तर पहिरो झरिरहेकाले सडक खुलाउन कठिन भइरहेको छ ।

केचना-कञ्चनजंघा सडक पनि  अवरुद्ध

यसैबीच, केचना-कञ्चनजंघा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका-११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सडक पनि अवरुद्ध भएको छ। सो सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन गर्न व्यवासायीहरु बाध्य भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने क्रम जारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*