हेटौंडा । तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । तीज आफैंमा एक सुन्दर पर्व हो।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ । पहिले–पहिले तीजमा दुःख वेदनालाई लिएर सासु बुहारीको बारेमा दुःखका गीत गाउने परम्परा थियो ।
तर अहिले आएर गीतलाई नयाँ ढंगबाट तीजका गीतहरु बजारमा ल्याउन थालिएको छ । अहिले गीतमा व्यापक रुपमा परिवर्तन आएको छ । अझ भनुँ भने तीजका गीतलाई फेसनका रुपमा लिन थालिएको छ । तीज भन्ने बित्तिक्कै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने भन्ने परम्परा बिस्तारै हराउँदै गएको देख्न सकिन्छ । रातो सारीलाई नि फेसन कै रूपमा लिएको पाइन्छ । अहिलेका तीज गीतका शब्दहरुमा अश्लीलताले डेरा जमाउन थालेको छ। दुःख वेदनाका कुरा नै हँदैनन् । धेरै नै विकृति फैलाइ रहेको छ । महिलाहरुले तीजमा दुःख वेदनाको गीत होइन व्रत बस्नुको सट्टा रक्सी खाने र रमाइलो गर्ने भन्ने सन्देश प्रवाह गरेको छ ।
अझ भन्नु पर्दा तीजका बेला नेपाली नारीले माइतीको घरमाभन्दा पनि पार्टी प्यालेस, रेस्टुरेन्ट, दोहोरीसाँझमा अनावश्यक खर्च तडकभडक, धनदौलतको प्रदर्शन गर्न थालेका छन् । विगत केही वर्षदेखि यस्ता ठाउँ रोज्ने गरेका छन् । तीजका गीतमा संस्कृतिभन्दा पनि छाडापन मौलाएको छ । यसकै असरले तीजका मौलिक गीतहरु बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । एक/दुई दिन मनाउने तीजलाई १ महिना देखि नै पार्टी प्यालेस, रेस्टुरेन्ट गइ दर खाने चलन बढिरहेको छ । यसले परम्पराभन्दा पनि ‘रुढीवाद’लाई प्रश्रय दिने, पौराणिक महत्वलाई कुल्चेर आधुनिकताको नाममा देखावटी संस्कृतिलाई मलजल गर्न थालेको जस्ता कुरासमेत समाजमा सुनिन थालेको छ । यसले एक किसिमको बहसको ढोका खोलिदिएको छ ।


















