हेटौंडा । चीनले दोस्रो विश्व युद्धमा जापानलाई हराएको ८०औँ वर्षगाँठको अवसरमा बेइजिङमा सैन्य परेड आयोजना गरेको छ । विश्वलाई आफ्नो सैन्य शक्ति देखाउने गरी आयोजना गरिएको यस परेडमा २६ देशका राष्ट्र प्रमुखहरू सहभागी छन् । जापानविरुद्धको यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसम्म सहभागी छन् ।
प्रधानमन्त्री ओली तियानजिन शहरमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १४ भदौमा चीन प्रस्थान गरेका हुन् । यस भ्रमणमा प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्ट्र प्रमुखसँग भेटवार्ता गरेका छन् ।
हिजो तियानजिनमा एससीओ शिखर सम्मेलन समापनपछि राजधानी बेइजिङ पुगेका प्रधानमन्त्री ओली अहिले सैन्य परेडमा सहभागी छन् । उनी पूर्वनिर्धारित कार्यतालिका अनुसार बेइजिङको परेडमा सहभागी भएका हुन् ।


















