हेटौंडाका ध्वस्त भएको मन्त्रालयबाट काम सुरु गर्न कर्मचारीलाइ निकै कठिनाइ

हेटौंडा टुडे
२०८२ भाद्र ३०, सोमबार ११:४७ गते

हेटौंडा । जेनजी आन्दोलनका क्रममा हेटौंडाको बागमती प्रदेशका अधिकांश मन्त्रालय भवन तोडफोड र आगलागीबाट ध्वस्त भएका छन । बागमती प्रदेशका १४ मन्त्रालयमध्ये जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ५ वटामात्र सुरक्षित छन् ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय जल्नबाट जोगिएका छन् भने अन्य मन्त्रालय आन्दोलनका क्रममा क्षतिग्रस्त भएका छन ।

त्यसैगरी तोडफोड र आगजनीले ध्वस्त भएता पनि मकवानपुरमा रहेका सरकारी कार्यालयहरु हिजोबाट खुलेका छन् । तर, सेवाग्राहीहरुका काम गर्नका लागि धेरै खालका समस्याका कारण कर्मचारीहरुनै तनाबमा छन् । हेटौंडामा रहेको बागमती प्रदेशका मन्त्रालय र जिल्ला स्तरमा ध्वस्त भएका सरकारी कार्यालयबाट काम सुरु गर्नका लागि निकै कठिनाइ भएको छ ।

मन्त्रालय र कार्यालयमा कहाँ कति क्षति पुगेको छ भन्ने मुचुल्का तयार गर्ने काम भइरहेका छन् । अधिकांश कार्यालयमा कर्मचारी कार्यालयबाहिरै बसेर अवलोकन छन् भने केही कर्मचारी कार्यालयमा प्रवेश गरे पनि कार्यकक्ष अस्तव्यस्त अवस्थामा रहेकोले बाहिरै बस्नु परेको कर्मचारीहरु बताउँछन् ।

त्यसैगरी मुख्यमन्त्री र मन्त्रीहरू आफै पनि प्रदेश सरकारका प्रशासनिक संरचना हेर्न आइपुगेका छैनन् । कर्मचारीहरू जलेर खण्डहर बनेका मन्त्रालय भवनमा पुग्ने गरे पनि सामान्य सरसफाइ गर्नुबाहेक कार्यालय सञ्चालन गर्ने अवस्थामा छैनन् । खरानी टकटकाएर अघि बढ्नुपर्ने अवस्थामा पुगेका मन्त्रालयहरू अभिभावकत्वको खोजीमा रहे पनि राजनीतिक नेतृत्वहरू नआउँदासम्म काम अघि बढ्न नसक्ने कर्मचारीहरू बताउँछन् ।

एउटै भवनमा रहेका ४ मन्त्रालयमध्ये ५ औँ तलामा रहेको श्रम रोजगार तथा यातायात मन्त्रालयमा आगलागीबाट खासै क्षति पुगेको छैन । भुईँ तलामा रहेको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय जलेर ध्वस्त बनेको छ भने पहिलो र दोस्रो तलामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको अधिकांश कोठा र कागजात जलेका छन् । सो मन्त्रालयको दक्षिणतर्फको २ र पूर्वतर्फको एक कोठामात्र जल्नबाट जोगिएका छन् । तेस्रो र चौथो तलामा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सबै भाग जलेको छ । सो मन्त्रालयको कागजात समेत जलेर नष्ट भएको छ भने कोठाहरू जीर्ण बनेका छन् ।

मन्त्रालयका कागजात, फर्निचर, कम्प्युटर, गाडी, जलेर नष्ट भएका छन् । मन्त्रालयमा बसेर काम गर्न सक्ने अवस्था छैन । कतिपय कार्यालयको काम फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको देखीन्छ।

मन्त्रालयहरु र बिभीन्न जिल्ला स्तरका जलेका कार्यालयहरुमा आइतबार जेनजीको आन्दोलबाट भएको क्षतिको विवरण तयार गर्ने काम भएको छ । कति क्षति पुग्यो भन्ने यकिन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*