हेटौंडा। नेपालगञ्जको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिएका छन ।
शव भेटिएको स्थानमा चितुवाको पाइला देखिएपछि त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको थियो। क्यामेरामा एउटा भाले चितुवा हिँडडुल गरिरहेको देखिएपछि आक्रमण चितुवाले नै गरेको पुष्टि भएको हो। घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। वन कार्यालयले नरभक्षी चितुवालाई नियन्त्रणमा लिन आज प्राविधिक टोली पठाउने तयारी गरेको छ।
‘क्यामेराले चितुवाको गतिविधि पुष्टि गरिसकेको छ, अब प्राविधिक टोलीले त्यसलाई नियन्त्रणमा लिनेछ’, प्रमुख गुप्ताले भने।
मृतक थारुको शव पोस्टमार्टमका लागि पठाइएको छ। प्रक्रिया पूरा गरी वडाको सिफारिसमा मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने वन कार्यालयले जनाएको छ।


















