हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामाग्री हस्तान्तरण गरिएको छ । चाइल्ड रिच नेपालको सहयोगमा गाउँपालिकामा अवस्थित ५ माध्यामिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सहायक कार्यक्रम संयोजक पुजा रानामगरले विद्यालय स्तरमै खेलाडी उत्पादन गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको जानकारी दिइन् । उनका अनुसार भवानी माध्यामिक विद्यालयसँगै व्यास माध्यामिक विद्यालय (वडा ६), कमलादेवी माध्यामिक विद्यालय (वडा २), रत्नज्योति मावि (वडा १०) र कालिका मावि (वडा ९) लाई सामाग्री हस्तान्तरण गरिएको हो ।
कैलाशका ५ वटा विद्यालय छनौंट गरी संस्थाको कार्य योजना अनुरुप सामाग्री प्रदान गरिएको उनले बताएकी छीन।
सबै विद्यालयलाई फुटबल खेलका ट्रेनिङ विप्स ३० वटा, ग्राउण्ड मार्कर ६० वटा, कोन २५ थान, ६ वटा फुटबल र ३० थान जर्सी हस्तान्तरण गरेका छौं, उनले भनिन् । विद्यालयबाटै खेलकुदको विकास होस् भन्ने हेतुले कार्यक्रम सञ्चालन गरेका हौं ।
गाउँपालिका अध्यक्ष मुक्तानले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेसँगै सामाग्रीको सहि सदुपयोग गरि खेलाडी उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनले संस्थालाई स-धन्यवाद सँगै आगामी दिनमा सहकार्यका साथ काम गरिने प्रतिवद्धता जनाए । विद्यालयले सामाग्रीको सहि सदुपयोग गर्नेमा विश्वस्त रहेको उनले बताए ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एंव शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।
















