जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्छु : प्रधानमन्त्री कार्की

हेटौंडा टुडे
२०८२ आश्विन ३, शुक्रबार १२:०७ गते

हेटौडा । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन् ।

संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन् ।

उनले सरकारका काम कारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उल्लेख गरिन् । यस्ता एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले आफू पदको लोभ लिएर प्रधानमन्त्री भएको नभई देश सङ्कटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा सङ्क्रमणको व्यवस्थापन गर्न  नेतृत्व लिएको धारणा राखिन् ।

नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने उनले दोहराइन् ।  कार्कीले कानुनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणामका कारण वर्तमान अवस्था आएको पनि बताइन् ।

उनले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुन निर्माणका साथै व्यवसायीक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै यस काममा सहयोग गर्न आग्रह गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*