हेटौंडा । चाडपर्व नजिकिएसँगै हेटौंडा बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ । दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको बिस्तारै भिडभाड हुन थालेको हो । सबैको घरघरमा सोमबार घटस्थापना गरिएको छ । होलसेल पसलहरुमा दसैँको सामान किन्नेहरुको चहलपहल बाक्लिएकाे छ ।
ठूला सपिङ मलदेखि फुटपाथसम्म क्रमशः उपभोक्ताको भिड बढ्दै छ । व्यवसायीहरूले पनि दसैँका लागि भनेर नयाँ लत्ताकपडा, खसी–बोकादेखि खाद्यान्नसम्म बजारमा ल्याउन थालिसकेका छन् ।
जेनजी आन्दोलनपछी विस्तारै लयमा फर्किएको बजार क्षेत्रमा चहलपहल पनि सुरु भएको हो । मकवानपुरका गाउँ गाउँबाट आफ्ना घरमा भएका खसी, बोका, कुखुरा, गेडागुडी बिक्री गर्ने अनी बजारबाट आवस्यक खाद्ययान्न, लत्ताकपडा लिएर जाने गरेका छन् । बजारमा पहिलेको तुलनामा केही चहलपहल बढेको व्यापारीहरु बताउछन ।
व्यापारीहरुको लागि नुनदेखि सुनसम्मका व्यापारको आशा हो दसैँ । यसअघिका दिनमा बजार सुस्ताएको थियो । चाडपर्वको रमझम नजिकिए पनि व्यापारीहरुको अनुहारमा चमक देखिएको थिएन । तर, अहिले भने राहत महसुस गरेका छन् । जेनजी आन्दोलनका कारण सरकारी संरचनाले अझै पनि राम्ररी काम गर्न सकेको छैन ।


















