हेटौडा-भैंसे हुँदै काठमाडौं जाने सडक खण्डमा आज राति देखि सवारी साधन चलाउन रोक

हेटौंडा टुडे
२०८२ आश्विन २०, सोमबार १४:१५ गते

हेटौंडा। हेटौडा र काठमाडौं जोड्ने छोटो मार्गमा राति सवारी चलाउन रोक लगाइएको छ । निरन्तर वर्षा भएपछि विपद जोखिमका कारण १८असोजमा हेटौंडाडा-काठमाडौं जोड्ने सबै सडकमा सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सोमबार छोटोमार्गबाट मात्रै राति सवारी आवागमनमा रोक लगाएको हो।

प्रशासनले १७ र १८ गतेको वर्षाका कारण सुधार हुँदै गएको मौसम र सडकसमेतको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि आज साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। अत्यावश्यक सेवाका सवारीसाधनलाई भने सञ्चालनमा रोक लगाईएको छैन।

हेटौंडाडा-काठमाडौं जोड्ने छोटोमार्गअन्तर्गत भैंसे-कुलेखानी-फाखेल-दक्षिणकाली-बल्खु र भैंसे-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-बल्खु खण्ड पर्दछन्। यो सडक खण्डबाट काठमाडौं पुग्न अन्य वैकल्पिक मार्गहरू पनि रहेका छन् ।

यस्तै फाखेल-चखेल-चन्द्रागिरी-मातातिर्थ-संतुङ्गल खण्ड र कुलेखानी-चित्लाङ-थानकोटको गणेशमान मार्ग छोटो मार्ग हुँदै पुग्न सकिने वैकल्पिक सडक खण्डहरू हुन । यी सबै सडक पहिरोको उच्च जोखिममा रहेका छन्। बागमती प्रदेश सरकारले छोटोमार्ग स्तरीकरण गरेपनि पहिरोको जोखिम भने यथावत नै रहेको छ ।

यसैगरी, छोटोमार्गबाहेक हेटौंडाडा र काठमाडौंलाई जोड्न मुख्य दुई वटा सडकहरू पनि छन्। देशकै पुरानो हेटौंडाडा-नोबिसे खण्डको त्रिभुवन राजपथ, ललितपुरको सातदोबाटो जोडिने कान्तिलोकपथ सडक हुन्।

वर्षाका कारण सामान्य अवरोध हटाएपछि त्रिभुवनराजपथ सुचारू रहेको छ भने कान्तिलोकपथ बकैया गाउँपालिका-११ सिमात घुम्तीमा पहिरो जाँदा अवरुद्ध रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। सिमात घुम्तीको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

त्रिभुवन राजपथ बाहेकका सडकबाट हेटौंडाडा-काठमाडौं आवतजावतमा दैनिक १ हजारभन्दा माथि साना सवारीसाधन सञ्चालन हुने गरेका छन् । मधेश प्रदेशको बारा, पर्सा, रौतहट र सर्लाहीसम्मका यात्रुहरू नियमित छोटोमार्ग हुँदै आवतजावत गरिरहेका छन्।

 

 

May be an image of text

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*