यस्तो छ काग तिहारको धार्मिक तथा पौराणिक महत्व

हेटौंडा टुडे
२०८२ कार्तिक २, आईतवार १०:५८ गते

हेटौंडा । प्रत्येक बर्ष काग तिहारको दिनबाट तिहार अनि यमपञ्चक शुरु भएको मानिन्छ । तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिथिको आधारमा मनाईले हुनाले यो वर्ष  कार्तिक २ गते आइतबार अर्थात आज परेको छ । आज बिहान कागलाई मीठो खान दिएर काग तिहार मनाइँदैछ।

तिहार पर्व कार्तिक कृष्ण त्रयोदशी देखि शुरु भई कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाईन्छ । आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिईन्छ । काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ । र यस दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । हामीले दिएको खानेकुरा खाएर प्रशन्न होऊ यमदण्डरुपी संकटबाट मूक्ति दिलाउ भनेर निम्न प्राथना गर्नुपर्दछ ।

धर्मशास्त्रहरुका अनुसार यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

आजका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । “तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ”, । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ ।

अर्को किंवदन्ती अनुसार वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो । भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामन लगायत पुराणमा वर्णन गरिएको छ ।

विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा पनि गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*