गुञ्जिन छाडे पुराना भैली गीत, सबैमा डिजे र आधुनिक गीतको मोह बढ्दै

हेटौंडा टुडे
२०८२ कार्तिक २, आईतवार १४:२६ गते

हेटौंडा । भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतीको रुपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै एकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाको साँझमा बाल बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशिर्वाद दिँदै हिँड्ने चलन छ । देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन पनि छ । कतिपय स्थानमा भने अक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ ।

तर अहिलेको समयमा यो सबै लोप हुदै जान थालेका छन । अहिले त सबैमा डिजे र आधुनिक गीतको मोह बढ्दै गएको देखिन्छ । कस्ता दिन हुन्थे पहिला आफ्ना साथि सगिं बटुली गाउँ घरमा देउसी भैलो खेलीन्भ्यो, पैसा भन्दा पनि रमाइलोमा मन भुलीन्थ्यो तर पछिल्लो समय देउसी भैलीमा देखिएको विकृतीले गर्दा यो सबै लोप भएको छ।

आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो सांस्कृतिक परम्परालाई विस्थापित गर्दै लगेपछि मौलिक भैली गीत विस्तारै हराउँदै जान थालेका छन् ।

तिहारमा यसरी गाइन्छ भौली गीत:

भैलिनी आइन् आँगन, बढारी कुडारी राख न
हे ! औसी को बारो, गाई तिहारो भैलो ।

हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आँगन, गुनिया चोलो माँगन
हे ! औसीको बारो, गाई तिहारो भैलो ।

हामी त्यसै आएनौँ, बलि राजाले पठाको
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

अरु दिन आउने जोगिनी, आज आउने भैलेनी
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आगन, गुनिया चोलो मागन
हे ! औसीको बारो, गाई तिहारो भैलो ।

घरबेटी आमा बाल्दै छिन्, सुनको दैलो खोल्दै छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

छानामाथि घिरैला, के–के दिन्छिन् हेरौँला
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राति, भैलीका मुखमा सन्तोषी
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दैछिन्, रुपैयाँ पैसा गन्दै छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

धमिराको ताँती, हामीलाई भो राति
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तबेला, हामीलाई भयो अबेला
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

दिने भए सिधा देउ, नदिने भए बिदा देउ
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सुनको छानो
जसले दिन्छ मूरी, उसको सुनको धुरी ।

आशिष यसरी पनि दिइन्छ्न्:

आहै, भन मेरा संगी हो- भैलेनी, आहै भट्याउनेको- भैलेनी आहै, सोरैमा ढाकी- भैलेनी, आहै रामरी भन्- भैलेनी, आहै, आशिष दिनु- भैलेनी, आहै, यसैमा घरको -भैलेनी, आहै, भडारमा- भैलेनी, आहै लक्ष्मीले – भैलेनी, आहै, बासै गरून्- भैलिनी, आहै ढुङ्गामा छुदा- भैलेनी, आहै, द्रव्य होस- भैलेनी, आहै,  माटोमा छुदा – भैलेनी, आहै अन्न बनोस- भैलेनी, आहै, पानीमा छुदा भैलेनी, आहै तेलमा बनोस – भैलेनी, आहै, यसैमा घरका – भैलेनी, आहै घरबेटी बाबा – भैलेनी, घरबेटी आमा – भैलेनी, लाला र बाला – भैलेनी,  केटा र केटी – भैलेनी, आहै, बरपिपल जस्तै- भैलेनी,आहै,  तपि रहुन – भैलेनी, आहै,  दुवोमा जस्तो – भैलेनी, आहै, मौलाइ रहुन्- भैलेनी, आहै, नाम र किर्ति – भैलेनी, आहै, फैलिमा रहोस- भैलेनी, आहै, यसै घरमा-भैलेनि, आहै, सुख र शान्ति-भैलेनी, आहै, सधैमा रहोस्- भैलेनी……………आहै, लेकको काने- भैलेनी, आहै औलाको माने- भैलेनी, आहै, आशिष दिन- भैलेनी, आहै, यतिकै जाने- भैलेनी ।

यसरी भैलीको गीत गाइसकेर आशिष दिइसके पछि घरका मान्छेले दिएको सेल, चामल, फलफूल, पैसा आदि समूहका नाइकेले झोलामा राखेर बिदा हुन्छन् । पछिल्लो समय देउसी भैलीमा देखिएको विकृतीले गर्दा नेपाली समुदायको मौलिक सँस्कृतिको रुपमा रहेको देउसीभैलो लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षण र यसको साँस्कृतिक पाटोलाई जोगाइराख्न यसमा देखिएका विकृतीलाई बेलैमा समाधान गर्न आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*