यी स्थानमा मंगलवार देखि वर्षा र हिमपातको पूर्वानुमान

हेटौंडा टुडे
२०८२ कार्तिक १०, सोमबार १२:०४ गते

हेटौंडा । देशका केही स्थानमा मंगलबार (कात्तिक ११) वर्षा र हिमपातको पूर्वानुमान छ । पश्चिम नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । एक/दुई स्थानमा भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“२०८२ कार्तिक ११ गते (मंगलबार) गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ,” महाशाखाले सोमबार (कात्तिक १०) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । “ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटनमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ । यो साताको अन्त्यतिर देशका अरू भूभागमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*