हेटौंडा। लगातारको वर्षा र पहिरोका कारण अवरूद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए।
उनका अनुसार भर्खरै राजमार्ग सञ्चालनमा आएको छ। कतै एकतर्फी छ भने कतै दुईतर्फी । ठाउँ ठाउँमा पहिरोका कारण दुईतर्फी सञ्चालन गर्न सक्ने अवस्था छैन । तर सञ्चालनमा भने आएको छ ।
अविरल वर्षापछि काभ्रेपलान्चोक जिल्लाको बोक्सिकुना, विरुवाडाँडा, नमोवुद्ध नगरपालिका–६ चौकिडाँडा रोशी गाउँपालिका–७,९,११ र नार्केस्थित विभिन्न स्थानहरूमा शुक्रबार गएको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । हाल मर्मतपछि सञ्चालनमा आएको हो।

















