सुशासन र विकास प्रतिको युवा चाहना पूरा गर्न फागुन २१ गते तोकिएको निर्वाचन सफल पारौँ: राष्ट्रपति पौडेल

हेटौंडा टुडे
२०८२ कार्तिक २३, आईतवार १३:४८ गते

हेटौंडा।  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन्। आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिएका हुन्।

लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने उनको भनाई छ । उनले भने,‘युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो ।’

राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सञ्चारमाध्यमलाई आग्रह गरे । सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व भएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*