हेटौंडा । प्रहरीले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। समाजलाई भड्काउने उच्छृंखल अभिव्यक्ति दिएकोले सार्वजनिक शान्ति विरुद्धको कसुरमा प्रसाईँलाई पक्राउ गरिएको बताइएको छ।
प्रहरीले आफ्ना पर्चा जफत गरेको भन्दै प्रसाईँले प्रहरीविरुद्ध पनि अभिव्यक्ति दिएको अवस्थामा प्रसाईँ पक्राउ परेका हुन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउन प्रसाईलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। आफूले ठूलै आन्दोलन गरेर देश ठप्प पार्न लागेको र त्यसका लागि रासनपानी बन्दोबस्त गरेर राख्नू भन्ने जस्ता अभिव्यक्ति दिएर उनले समाजलाई भ्रमित पार्दै आएका थिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको थियो।
त्यसबाहेक राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने काम पनि उनले गर्दै आएका थिए। पुष्टि नभएका आधारहिन र भ्रमपूर्ण सूचना फैलाएर राज्यविरूद्ध भड्काउने अभिव्यक्ति पनि दिँदै आएका थिए।


















