मनहरीमा रुखबाट लडेर घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु

हेटौंडा टुडे
२०८२ पुष १, मंगलवार १२:२९ गते

हेटौंडा । मकवानपुरको मनहरीमा रुखबाट लडेर गम्भीर घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान रुखमा चढेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो।

राक्सिराङ गाउँपालिका-८ टोक्चेराङ घर भई हाल मनहरी गाउँपालिका-७ लामा टोलस्थित काका डिसा लामाको घरमा बस्दै आएका ३५ वर्षीय सुरेश लामा बिहान करिब ८:५० बजे घरबाट अन्दाजी ३ किलोमिटर पश्चिमतर्फ रहेको श्री मनकामना सामुदायिक वनमा घाँस काट्न गएका थिए । साजको रुखमा चढी घाँस काट्ने क्रममा अचानक करिब ३० फिट तल लडेर उनी गम्भीर घाइते भएका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ बिहान प्रहरी टोली घटनास्थलमा  पुगी गम्भीर घाइते भएका लामालाई उद्दार गरी उपचारको लागि हेटौँडा अस्पतालमा ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा १०ः२५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक लामाको शव हाल हेटौँडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*