मकवानपुरको कैलाश गोपीराङका १० घरमा शौचालय निर्माण हुँदै

हेटौंडा टुडे
२०८२ पुष ८, मंगलवार १४:३९ गते

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–१० गोपीराङमा १० घरधुरीमा शौचालय निर्माण हुने भएको छ। तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको उक्त क्षेत्रमा सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्न आग्रह गरेका छन ।

राज्यले  ‘एक घर, एक धारा’को अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाई रहने अध्यक्ष मुक्तानले बताए । जथाभावी दिशा पिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिशापिसाब गरिनुपर्ने सुझाव दिदैँ संस्थाको आफ्नो नियम रहने भएकाले समय सीमा भित्रै शौचालय निर्माण गर्नुस भनि उनले भने ।

कार्यक्रममा वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । शौचालय निर्माण पछि बालबालिका र वयोवृद्धलाई सहजता रहने उनले बताए । ३५÷३६ घरधुरी छ, पहिलो चरणमा १० घरलाई शौचालय निर्माण गरिने, समयमै निर्माण सके दोस्रो चरणमा १० घरलाई शौचालय निर्माण समाग्री वितरण गरिने वडाध्यक्ष ब्लोनले बताए ।

बाल विकास कार्यक्रम नेपालले पहिलो चरणमा १० घरधुरीलाई शौचालय निर्माणको लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामाग्री सहयोग गरेको हो । यस अघि कैलाश ३ खिर्कीमा २० घरधुरीलाई आवश्यक सामाग्री हस्तान्तरण गरि निर्माण कार्य भइरहेको छ ।

संस्थाले गाउँपालिकाभित्र शिक्षा र स्वास्थ्यसँग विभिन्न काम गर्दै आइरहेको छ । हस्तान्तरण कार्यक्रममा बाल विकास कार्यक्रम नेपाल कार्यक्रम संयोजक कमल अर्याल, हरिबहादुर भण्डारी, सावित्री लामा, रामलाल स्याङ्बो लगायतको उपस्थिती रहेको थियो । संस्थाको निमय र लाभग्राहीसँगको सम्झौता अनुरुप सामाग्री हस्तान्तरण गरेको २५ दिन भित्र निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापाता, बालुवालगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*