प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

हेटौंडा टुडे
२०८२ पुष २४, बिहीबार १२:५९ गते

हेटौंडा ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार नेपाली सेना परिचालन हुने भएको छ।

निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन् ।

निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।

मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रहने छ। नेपाली सेनाका अनुसार राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने छ।

फागुन २१ गते मतदान सम्पन्न भएसँगै मत पेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षालगायतका जिम्मेवारी सेनाले गर्नेछ । निर्वाचनलाई लक्षित गरी देशका विभिन्नस्थलमा सुरक्षा वेश स्थापना गर्ने तयारी गरिएको नेपाली सेनाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*