हेटौंडा । डेढ वर्ष अघि चितवनको भरतपुर–२९, सिमलतालस्थित त्रिशूली नदीमा हराएका दुई बसमध्ये एउटा गणपति डिलक्सको बस फेला परेको छ ।
बसको अवशेष भेटिएको पनि एक साता बितीसक्यो। त्रिशूली किनारामा बालुवाले पुरिएको उक्त अवशेष निकाल्न दैनिक ५० जनाको हाराहारीमा सुरक्षाकर्मी परिचालित छन् । तर उक्त बस पुरै बाहिर निकाल्न भने सकिएको छैन ।
बसको अवशेष उत्खनन् गर्ने क्रममा निलो रङको गणपति यातायातको बस भएको पुष्टि भएपछि चितवन र तनहुँतर्फको जिल्ला सुरक्षा समितिले बैठक बसेर बस उत्खननमा सुरक्षाकर्मी खटाउने निर्णय गरेपछि चितवन र तनहुँ दुबैतर्फका सुरक्षाकर्मी खटिएर बसको अवशेष उत्खनन गरिरहेका छन् । उत्खननमा खटिएका सुरक्षाकर्मीकै अनुसार एक साताको यो अवधिमा २५ प्रतिशत मात्रै बस बाहिर निकाल्न सकिएको बताएको छ ।
त्रिशूली किनारामा नदीसँगै जोडिएको कारणले बस उत्खनन गर्नको लागि सुरक्षाकर्मीलाई सहज भएको छैन । जति बालुवा फाल्यो त्यति पानी भरिँदै जान्छ । सुरक्षाकर्मी बेल्चा बिसाउँछन्, पानी सुकाउनेतर्फ लाग्छन् । केही समय हाते मोटर लगाएर पानी सुकाउन लाग्छन्, पानी तान्ने मेसिनमा पेट्रोल एकैछिनमा सकिन्छ । २० किलोमिटर पार गरेर मुग्लिन पुगेर पेट्रोल किनेर लग्यो, मेसिनमा भर्यो फेरि पानी फाल्यो । अनि बसको पुरिएको भाग तान्न पुलरको सहायताले प्रयास गर्यो फेरी केही मिनेटमै पुनः खाल्डोमा भरिन्छ । काम रोक्दै, पुन पानी त्रिशूलीमा पानी फाल्दै गर्दामा नै अधिकांश समय बितिरहेको छ ।
शनिबार पनि चितवनतर्फबाट गएका २५ जना नेपाली सेना, ११ जना सशस्त्र प्रहरी र जनपथ प्रहरी गरि ५० जना हाराहारीमा बस उत्खननमा सुरक्षाकर्मी खटिएका थिए । तर, उनीहरुले बस निकाल्न सकेनन्।
त्रिशूलीको पारिपट्टि बस गाडिएको ठाउँसम्म पुग्न मोटरबाटो छैन । बस फेला पारिएको तेस्रो दिन लगिएको पुलर लगाएर ठाउँ ठाउँका रुखमा बाँधिएको छ । तर, पुरिएको बसको अवशेष तान्न सकिएको छैन ।
बसको अवशेष उत्खनन गर्न खटिएका सुरक्षाकर्मी दिनभरि काम गरेर पनि परिणाम दिन नसक्दा हैरान भएका छन् । विपतपछिको व्यवस्थापन कार्यमा सरकारको फितलो व्यवस्थापन त्रिशूली किनारामा सात दिनदेखि देखिएको दृष्यमा बिम्बित भएको देखिएको छ ।
२०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रुले हामफालेर ज्यान जोगाए पनि ६२ यात्रु बेपत्ता भएका थिए ।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी लगायतको सहयोगमा २४ वटा शव फेला परेको थियो । अन्य यात्रु र बस अझै बेपत्ता भएका थिए । लगातार खोजी गर्दा पनि बेपत्ता नागरिक र बस नभेटिएपछि सरकारले साउन १३ मा बेपत्ता नागरिकलाई मृतकसरह क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
दुर्घटनास्थलबाट जम्मा ३ सय मिटर तल गाडिएको अवस्थामा रहेको बस पत्ता लागेन । अर्को एञ्जल डिलक्स त कता छ अहिलेसम्म पत्तो छैन ।



















