कैलाश गाउँपालिका–१०, बेतेघारीलाई सफा र स्वच्छ गाउँ घोषित

हेटौंडा टुडे
२०८२ माघ १४, बुधबार १३:४२ गते

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका–१०, बेतेघारीलाई सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ ।  ३७ घरधुरी रहेको बेतेघारीलाई मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सफा र स्वच्छ गाउँ घोषणा गरेका हुन् ।

अध्यक्ष मुक्तानले खानेपानी आम नागरिकको मौलिक अधिकार हो भन्दै पानी र सरसफाई अपरिहार्य रहेकोले शुद्ध खानेपानी पिउन सबैलाई अनुरोध गर्नुभएको छ ।

खानेपानीको कार्यक्रमलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा कामहरु गरिरहेको बताउँदै मोक्तानले खानेपानी दीगो बनाउन सबैको दायित्व रहनेमा जोड दिनुभयो ।  ‘पानीका ट्याङ्कीलगायत अन्य संरचना संरक्षण गर्नु यहाँहरुको दायित्व हो, सबै मिलेर व्यवस्थापन गर्नुहोस्’, अध्यक्ष मुक्तानले निर्देशन दिनुभयो ।

एक घर एक धारा राज्यको नीति रहेको जानकारी दिँदै उनले सोही अनुरुप क्रमिक रुपमा टोल र गाउँमा काम गरिरहेको दावी गर्नु भएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले नेपाल सरकारको दीगो विकाससँग जोडिएको सरसफाई र खानेपानी क्षेत्रलाई व्यवस्थित र आवश्यक पूर्वाधारका कार्यहरु भइरहेको बताउनुभयो । गाउँ, टोल र समुदायलाई सफा र स्वच्छ बनाउने अभियान सबै वडा वडामा पुग्ने लक्ष्य गाउँपालिकाको रहेको बताउनुभयो ।

वडा नम्बर १० का वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जुनसरी राई, बिमला सुनार, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेम सेवा समाजका अध्यक्ष मीरा स्याङ्तान, उपाध्यक्ष दलमान गुरुङ, आधारभूत स्वास्थ्य चौकी भाल्टारका प्रमुख सन्तोष कुमार सिंह, बेतेघारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष आइत सिं स्याङ्बोलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सरसफाई कार्यमा उत्कृष्ट हुने स्थानीय, खानेपानी समितिलगायत विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो । गाउँपालिकाले प्रेम सेवा समाजसँगको साझेदारीमा एक घर एक धाराका लागि खानेपानी ट्याङ्की निर्माण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*