समानुपातिक मतगणना : रास्वपाले कटायो ४१ लाख मत, अरु दलको कति?

हेटौंडा टुडे
२०८२ फाल्गुन २५, सोमबार १३:१५ गते

हेटौंडा ।  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ।  पछिल्लो मत परिणाम अनुसार सोमबार दिउँसो १२:१५ बजे राष्ट्रिय स्वतन्त्र पार्टी हालसम्म ४१ लाख २७, १५७ मत प्राप्त गरेको छ । ४८.३ प्रतिशत हो । जुन नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको निकै ठुलो जनमत हो ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कुल ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ, जसमा नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना र स्थापित दलहरूलाई निकै पछाडि छाड्दै ऐतिहासिक वर्चस्व कायम गरेको हो ।

परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा (एमाले) को मत परिणाम भने यस पटक निकै खुम्चिएको पाइएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले जम्मा १६.१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९६६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले १३.६६ प्रतिशतका साथ ११ लाख ७३ हजार ५६१ मत मात्रै जोड्न सफल भएको छ ।

अन्य दलहरूको प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीले ७.०९ प्रतिशत मतका साथ ६ लाख ९ हजार २०८ मत प्राप्त गरेको छ । नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३.५० प्रतिशत अर्थात् ३ लाख १ हजार १२९ मत प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता थ्रेसहोल्ड पार गर्ने देखिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२८ प्रतिशतका साथ २ लाख ८२ हजार ५५ मत प्राप्त गरी छैटौँ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*