हेटौंडा। हेटौंडा बजार क्षेत्रमा पछिल्लो समय तरकारी लगाएतका खाद्य वस्तुहरुको महँगी चुलिदै गएको छ। जसकारण मकवानपुरको हेटौंडा बजार सहित सबै स्थानीय तहका बजारहरुमा आम उपभोक्ताहरुले महगीको मार खेप्नुपरेको छ । विशेषगरी हेटौंडाको चौकीटोलस्थित तरकारी थोक बजार र खोपेगल्लीलगायतका स्थानमा तरकारी महँगिँदा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । साथै फलफुलको भाउँले पनि आकाश नै छोएको छ। विशेषगरी केरा, स्याउ र सुन्तला अङगुरजस्ता फलफूलको मूल्य वृद्धि हुँदा सर्वसाधारणले महगीको मार खेप्नुपरेको हो ।
दैनिक उपभोगका अत्यावश्यक तरकारीको मूल्य अस्वाभाविक रूपमा बढ्दा घरधुरीको भान्सा खर्च बढेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।
व्यापारीहरूका अनुसार बजारमा तरकारीको आपूर्ति घट्नु र सिजन परिवर्तनको प्रभावका कारण मूल्य बढेको बताएका छन् । हिउँदे तरकारीको सिजन सकिँदै जाँदा र बर्खे तरकारी पूर्ण रूपमा बजारमा नआइसकेकाले माग र आपूर्तिबीच असन्तुलन देखिएको उनीहरूको भनाइ छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय घटनाक्रमले पेट्रोलियम पदार्थको मूल्यमा परेको प्रभावले स्थानीय बजारमा व्यापक असर देखिएको छ । इन्धनको मूल्य बढेसँगै ढुवानी खर्च महँगिँदा त्यसको प्रत्यक्ष असर खाद्यान्न, तरकारी, फलफूल र अन्य उपभोग्य वस्तुमा परेको हेटौंडाका व्यापारीहरू बताउँछन् । मकवानपुरका बजार क्षेत्रमा पछिल्लो समय तरकारी, चामल, दाल, तेललगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएर समस्या खेप्दै आएको सर्वसाधारणहरु बताउछन्।
तर, उपभोक्ताले चर्को मूल्य तिरे पनि किसानले भने उत्पादनको उचित मूल्य नपाएको गुनासो बढ्दो छ । बारीमा सस्तोमा बिक्री गर्न बाध्य किसान र बजारमा महँगोमा किन्न बाध्य उपभोक्ताबीचको अन्तरले बजार व्यवस्थापनमा कमजोरी देखिएको स्थानीयहरूको भनाइ छ ।
व्यापारीहरू भने ढुवानी खर्च, भाडा वृद्धि र आपूर्ति व्यवस्थापनमा आएको समस्याका कारण मूल्य बढेको दाबी गर्छन् । तर, उपभोक्ता अधिकारकर्मीहरू बजार अनुगमन कमजोर हुँदा बिचौलियाको चलखेल बढेको बताउँछन् ।
सरकारका सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा कालोबजारी र कृत्रिम अभावजस्ता समस्या बढ्दै गएको आरोप लाग्दै आएको छ ।
मकवानपुरमा महँगी नियन्त्रणका लागि स्थानीय प्रशासन र सम्बन्धित निकाय सक्रिय हुनुपर्ने माग सर्वसाधारणले गरेका छन् । अन्यथा, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले यहाँका नागरिकको जीवनयापन अझ कठिन बन्दै जाने चिन्ता व्यक्त गरिएको छ । बजारमा मूल्य नियन्त्रण र सहज आपूर्तिको व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिएको छ ।


















