यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ४ निर्णय

हेटौंडा टुडे
२०८३ बैशाख २१, सोमबार १४:३२ गते

हेटौंडा। आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य निर्णयहरु सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा मुख्य ४ वटा निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

यस्ताे छ मन्त्रिपरिषद् बैठकका निर्णय:

–परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने ।

–भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

–संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने ।

–संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्माननीय राष्ट्रपतिज्यूबाट पुनविर्चारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न पुन: सिफारिस गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*