हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कतिपय विश्लेषकले देश अप्ठ्यारोमा गयो भन्ने भाष्य बनाइरहेकाले त्यस्तो नसोच्न आग्रह गरेका छन्। आइतबार सांसदहरूको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशलाई ट्र्याकमा ल्याउने काम भइरहेको बताएहुन्।
‘कतिपय विश्लेषकहरूलाई लाग्न सक्छ, कहाँ गयो देश? कहीँ अप्ठ्यारोमा पर्यो कि भनेर त्यस्तो भाष्य सिर्जना गर्न खोजिँदैछ। कहीँ पनि अप्ठ्यारोमा छैन देश, देशलाई ट्र्याकमा ल्याउँदैछौं। हामी ट्र्याकमा ल्याउने कोसिसमा छौं। ट्र्याकबाहिर त हिजो थियो देश,’ उनले भने।
रास्वपा यो देशमा हुर्कंदै गरेका सन्तानप्रति सचेत रहेको उनले बताए। देशको सार्वभौमिकता र अखण्डताप्रति रास्वपा अडिग र अटल रहेको उनले बताए। ‘हामी निर्भीक भएर अडिन सक्छौं। बोल्न सक्छौं। त्यस कारण यी कुराहरूमा हामी कहिले पनि सम्झौता गर्दैनौं,’ उनले भने। सार्वजनिक वृत्तमा आठ-दस जना सांसदको चर्चा भइरहेको बताउँदै रास्वपामा एक-से-एक विज्ञ रहेको बताए।
पार्टीका नेता, सांसदहरूका अभिव्यक्ति, क्रियाकलापले पार्टीलाई भोट दिनेहरूमा निराशा ल्याउनसक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे।
‘आशा र भरोसा बोकेर, कुप्रो शरीर लठ्ठी टेक्दै गएर घन्टीमा भोट हालेका वृद्ध बाआमाको, दाजुभाइ दिदीबहिनीहरूको मनोभावनामा चोट पुग्यो कि भन्ने कुरा हामीले बुझ्नुपर्छ, हाम्रा अभिव्यक्ति, अन्तर्वार्ता, हाम्रो फेसबुक स्ट्याटस, हामीले गर्ने कुरामा त्यो हामीले सोच्नैपर्छ,’ उनले भने।

















