गाँजा र खैरो हिरोइन सहित ३ जना पक्राउ

हेटौंडा टुडे
२०८३ जेष्ठ ५, मंगलवार १७:११ गते

हेटौंडा । मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा र खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ९ः३० बजे प्रहरी चौकी हेटौंडा–१० बसपार्कबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा हेटौंडा–१० बसपार्क क्षेत्रमा शंकास्पद अवस्थामा बसेका एक व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी गाउँपालिका–४ निवासी ६० वर्षीय लक्की चन हजरा रहेका छन्। प्रहरीले उनको शरीर तथा साथमा रहेको झोलाको खानतलासी गर्दा झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २१ किलो ३१० ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजासहित हजरालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोमबार साँझ करिब ६ बजे हेटौंडा–१० स्थित बलराम दास पेट्रोल पम्प नजिक प्रहरीले चेकजाँचका क्रममा दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार बा.प्र.०२–०४६ प ६९८३ नम्बरको मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–३ घर भई हाल हेटौंडा–४ कमलडाँडामा बस्ने २२ वर्षीय प्रतिक ठकुरीलाई शंका लागेर जाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र प्लास्टिकको डिब्बामा लुकाएर राखिएको ३७० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो।

उक्त घटनामा संलग्न रहेको आशंकामा बा.प्र.०३–००५ प ५०१८ नम्बरको मोटरसाइकलमा रहेका हेटौंडा–८ कमाने निवासी २५ वर्षीय विशाल देउलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुवै मोटरसाइकल समेत नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*