काठमाडौं/प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरुले २४ दिनपछि (शुक्रबार) नियमित मुद्दा हेरेका छन्। शुक्रबार सर्वोच्चका १८ जना न्यायाधीशले ९ वटा संयुक्त र १ एकल इजलासबाट मुद्दाको सुनुवाइ गरेका हुन्।
शुक्रबार प्रधानन्यायाधीश राणाले आफू बाहेकका न्यायाधीशका लागि इजलास गठन गरेका थिए। राणाले आफ्ना लागि इजलास नतोकेपछि न्यायाधीशहरु इजलासमा नियमित मुद्दा हेर्न गएका थिए। बिहीबार प्रधानन्यायाधीश राणा बाहेकका १८ जना न्यायाधीशको सहभागितामा बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले मुद्दाको पेसी तोक्दा गोलाप्रथा प्रणाली अपनाउने निर्णय गरेपछि शुक्रबारदेखि न्यायाधीशहरु नियमित सुनुवाइमा फर्किएका हुन्।
गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया भने आइतबारदेखि सुरु हुने बताइएको छ। गोलाप्रथाबाट पेसी तोक्नका लागि सर्वोच्च अदालत नियमावली र निर्देशिका संशोधन गरिएको छ। नियमावली र निर्देशिका संशोधनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि आइतबारदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न सुरु हुने बताइएको छ।


















