हेटौँडा/ चितवनमा जारी एमालेको १०औं महाधिवेशनमा हालसम्म एक हजार ३०० मतदाताले मतदान गरिसकेका छन् । राति ९ बजेदेखि बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारित समयभन्दा सात घण्टापछि बिहान ४ बजेदेखि मात्रै मतदान सुरू भएको हो । दुई हजार १७५ मतदातामध्ये सवा ८ बजेसम्म १३०० ले मतदान गरिसकेका हुन् । मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा। विजय सुब्बाले जानकारी दिए ।
एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान बिहान ४ बजेबाट सुरु भएको थियो । १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ । यद्यपि मतदान नसकिए केही समय थप गरिने संयोजक डा।सुब्बाले जानकारी दिए । मंगलबार साँझसम्म अन्तिम मत परिणाम आइसक्नेछ । मतगणना सुरु गरेको करीब तीन घण्टामा अन्तिम मतपरिणाम आइसक्ने उनले बताएका छन् ।
अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र भीम रावलले सुरुमै मतदान गरेका हुन् । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पति पहिलो लटमै भोट हालेका छन् । प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको हो ।
मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व छानिन लागेको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३ सय १ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेश गरेका थिए । उनले पेस गरेको प्रस्तावमा कतिपय पदमा सर्वसम्मत भएको छ भने कतिपय पदमा निर्वाचन हुने भएको छ ।
ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन् । केहीमा भने ओलीले प्रस्ताव गरेकाहरू सर्वसम्मत चुनिएका छन् । ओली आफैं चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नु पर्ने भएको छ । उपाध्यक्षमा पनि चुनाव हुने भएको छ । उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जनालाई चुनौती दिँदै घनश्याम भुसालले उम्मेदवारी दिएका छन् । सात जना सचिव पनि मतदानबाट टुंग्याउनु पर्ने भएको छ । ७ जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका छन् ।खबरब्रेकबाट साभार


















