हेटौँडा/ नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आज बिहिबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।
अधिवेशनको लागि आवश्यक तयारी पूरा भइसकेको प्रवक्ता कोइरालाको भनाई छ । अन्य जिल्लाबाट आउने प्रदेश प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि, पदाधिकारीहरु, केन्द्रीय नेतागण सबैलाई खाना तथा आवासको प्रबन्ध मिलाइएको उनले बताए । सबै जिल्लाबाट आउने पाहुनाहरुको स्वागत तथा व्यवस्थापनका लागि संयोजक तोकिएको र संयोजकले ती काम पुरा गर्ने उनले बताए ।
उद्घाटन सभारोहका लागि हेटौंडाको बुद्धचोकबाट करिब १० हजार नेता कार्यकर्ताको र्याली निकालेर फरेष्टीमा पुग्नासाथ सभामा परिणत हुने उनको भनाई छ । कार्यक्रमको लागि सुरक्षाको प्रबन्ध मिलाइएको र कांग्रेसको तर्फबाट पनि स्वयम् सेवक खटाइने उनले बताए ।
अधिवेशन उद्घाटन सत्रपछि कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सभापति पदमा उम्मेदवारी दर्ता गराउने जनाइएको छ । उनी सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बन्दैछन् ।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापति जगदीश्वर नरसिंह केसी उम्मेदवार बन्दैछन् । उनलाई पौडेल समूहले उम्मेदवार बनाउने निर्णय गरेको छ ।


















