नेपालमा पनि देखियो ओमिक्रोन, नआत्तिन तर सचेत रहन आग्रह

टुडे संवादाता
२०७८ मंसिर २०, सोमबार १४:०८ गते

हेटौंडा/नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा दुई व्यक्तिमा संक्रमण देखिएको हो । सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह–प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए ।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

यो भरिअन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैन् । विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन् ।

विश्वका धेरै देशहरूले दक्षिण अफ्रिका सहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ । नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*