जस्प्रीता बनिन् हेटौंडाको पहिलो नमूना युवा मेयर

हेटौंडा टुडे
२०७८ फाल्गुन १४, शनिबार १७:३२ गते

हेटौंडा।  जिल्ला युवा समितिको कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना भएको नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी ५ दिवसीय प्रशिक्षण कार्यक्रममा जस्प्रीता अधिकारी नमूना मेयरमा निर्वाचित भएकी छिन् ।कार्यक्रमको तेस्रो दिन बिहिबार भएको नमूना निर्वाचनमा ६१ प्रतिशत मत प्राप्त गर्दै जस्प्रीता हेटौंडाको पहिलो नमूना मेयरमा निर्वाचित भएकी हुन् ।मेयरमा विजयी जस्प्रीता अधिकारीले अर्का आकांक्षी तथा निकटतम प्रतिद्धन्दी सिद्धान्त पुडासैनीलाई ८ मतले पराजित गरेकी हुन् । निर्वाचनमा मेयर पदको लागि खसेको कुल ३६ मतमध्ये विजयी अधिकारीले २२ मत प्राप्त गर्दा पराजित पुडासैनीले १४ मत मात्र प्राप्त गरेका थिए । मेयरमा अधिकारी र पुडासैनीसहित सम्राट सिलवाल गरी ३ जनाको उम्मेद्वारी परेपनि सिलवालमाथि दाबी बिरोध पर्दै उनको उम्मेद्वारी खारेज भएपछि २ जनाको बिचमा मात्र निर्वाचन भएको थियो । यसैगरी हेटौंडाको नमूना उपमेयरमा रंजन कुमार पौडेल ९आरबी पौडेल० निर्वाचित भएका छन् । नेपालको संविधान अनुसार कुनै पनि राजनितीक दलले नगरको मेयरको उम्मेद्धवारमा महिलालाई चयन गरेमा उपमेयरमा पुरुष र मेयरमा पुरुषलाई चयन उपमेयरमा महिलालाई चयन गर्नुपर्ने संबैधानिक व्यवस्था रहेकाले त्यसैको अभ्यास गर्दै उपमेयरमा पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।

पौडेलसहित दिक्षा सुवेदी र स्वस्तिका बानियाँको उपमेयरमा उम्मेद्वारी दिएपनि मेयरमा महिला निर्वाचित भएपछि उपमेयरमा पुरुषतर्फबाट पौडेलको मात्र उम्मेदवारी परेकाले उनी स्वतः उपमेयरमा निर्वाचित भएका निर्वाचन अधिकृत तथा जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दाहालले जानकारी दिनुभयो । निर्वाचित मेयर, उपमेयर तथा नगरसभा सदस्यहरुले बिहिबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । कार्यक्रममा सहभागी हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका ५० जना युवाहरुलाई प्रशिक्षकद्वय रमेश कुमार पौडेल र श्यामकाजी श्रेष्ठले पहिलो दिन युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक सम्बन्धी अवधारणाको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*