५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जना नियन्त्रणमा

हेटौंडा टुडे
२०८१ असार ७, शुक्रबार १३:२६ गते

 
हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाका आधारमा   अबैधरुपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।  हेटौंडा–११ स्थित थानाभर्‍याङमा वाग्मती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबाट संयुक्तरुपमा खटिएको टोलीले विहीबार राति करिब ८ बजेको समयमा काठमाडौंबाट हेटौंडाहुँदै भारतको दिल्लीतर्फ जान लागेको ना।६ ख ७१६३ नम्बरको यात्रु बाहक बसबाट करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको अबैध भेपसहित उनीहरुलई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै अबैधरुपमा भन्सार छलेर भेप ओसारपसारमा सक्रिय दोलखा भीमश्वेर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, कटारी नगरपालिका–११, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका, नुवाकोटको ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई सार्वजनिक गरेको छ ।मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार पक्राउ परेकाहरुले बसका यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्स वटम बनाएर लामो समयदेखि विभिन्न सामानहरु अबैधरुपमा भन्सार छलेर तस्करी गर्दै आएको पाइएको छ ।

पक्राउ परेका व्यक्तिहरू र बरामद सामानसहित बसलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*