हेटौंडा । सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आज वैशाख १९ गते शुक्रबारदेखि सुरु हुँदैछ । महिला फुटबललाई प्रोत्साहन गर्न पहिलोपटक विशेष रूपमा आयोजना गरिएको यो प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बैशाख २५ गते सम्म सञ्चालन हुँदैछ । प्रतियोगिताको उद्घाटनमा एन्फा मकवानपुरले छिमेकी जिल्ला चितवनसँग पहिलो खेल खेल्नेछ । छैटौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको फुटबल संघ मकवानपुरले यस वर्ष महिला गोल्डकपको आयोजना गरेको हो ।
उद्घाटन खेल आज साँझ ४ बजे सुरु हुने छ। खेल रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर र चितवन जिल्ला महिला टिम आमनेसामने भिड्नेछन्। प्रतियोगितामा दुई विभागीय टोली, एउटा ए डिभिजन टोली र पाँच जिल्ला गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफसहित संकटा क्लब तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहने भएको छ । यसअघि त्रिभुवन आर्मीको सहभागिता रहने भनिएपनि अन्तिम समयमा नाम फिर्ता लिएपछि संकटा खेलमा सहभागी हुने भएको हो । खेलाडीहरूमध्येमा राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरू पनि छन्।
विजेता टोलीले नगद ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बाँनियाको तर्फबाट स्कुटर प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि अनुमानित ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट १५ लाख, र भीमफेदी तथा कैलाश गाउँपालिकाबाट ३–३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार प्रतियोगिता महिला सशक्तीकरण, खेलकुदको विकास र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।






















