हेटौंडा ।रौतहटमा आज बिहान कार र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा बाबुछोरीको ज्यान गएको छ। रौतहटको चन्द्रपुर नगरपालिका– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक विपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको हो। हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका– ३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अन्डकोषमा चोट लागेर गम्भीर घाइते भएका थिए । सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएका हुन। त्यस्तै मोटरसाईकलको पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो । उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे डक्टरले मृत घोषणा गरेको जानकारी दिएका छन ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएको छ।






















