हेटौंडा। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्। उनले भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका भए पनि आधिकारीक पत्र भने पेस गरेका थिएनन्।
उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ। यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ। जेन-जी आन्दोलनका क्रममा भएको दमनपछि पदमा रहिरहनु अनुचित ठानेको भन्दै उनले उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत लिखित राजीनामा पत्र बुझाएका हुन्।
जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनु परेको घटनापछि आफू गहिरो भावनात्मक आघातमा परेको पाठकले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहन उचित नहुने भन्दै राजीनामा दिने निर्णयमा पुगेको उनले बताएका छन्। २८ पुस २०७९ मा भएको सभामुखको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गर्दै सभामुख पदमा निर्वाचित भएका थिए। राप्रपाका उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सघाएका थिए।























