हेटौंडामा अवैध गोरु तस्करी : २२ वटा गोरु सहित ट्रक नियन्त्रणमा

हेटौंडा टुडे
२०८२ कार्तिक २०, बिहीबार १२:५६ गते

हेटौंडा । मंगलबार हेटौंडातर्फ ल्याइँदै गरेको ट्रकबाट २२ वटा गोरु नियन्त्रणमा लिइएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ३–००१ ख ०२१५९ नम्बरको ट्रक हेटौंडा–१९ नेवारपानीमा चेकजाँच गर्ने क्रममा पशु सेवा मापदण्ड विपरीत ट्रकमा खचाखच गरी ल्याइएको उक्त ट्रक लाइ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला पशु सेवा कार्यालयको सक्रियतामा नियन्तणमा लिएको हो। तीमध्ये दुईवटा गोरु मृत अवस्थामा फेला परेको थियो ।

पछिल्लो समय मकवानपुर जिल्लालाई ट्रान्जिट बनाएर गाईगोरु तस्करी हुने क्रम तीव्र बनेको छ ।  चालु आर्थिक वर्ष २०८२÷८३ को चार महिनामै ७० भन्दा बढी गोरु अवैध रूपमा ढुवानी हुँदै गर्दा नियन्त्रणमा लिइएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै २०० भन्दा बढी गाईगोरु नियन्त्रणमा लिइएका थिए । यस आर्थिक वर्षमा ७० सहित हालसम्म कुल २७० गाईगोरु नियन्त्रणमा लिइएको छ । पश्चिमतर्फबाट पूर्वका जिल्लातर्फ लैजाने क्रममा मकवानपुरलाई ट्रान्जिटको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।

नियन्त्रणमा लिइएका गोरुहरूलाई मकवानपुरमा गौशाला नहुँदा स्थानीय किसानलाई कृषि प्रयोजनका लागि जिम्मा लगाउने गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। मंगलबार नियन्त्रणमा लिइएका गोरुमध्ये ८ वटा हेटौंडा–१६ आकाशधाराका किसान र १२ वटा बकैया क्षेत्रका किसानलाई प्रदान गरिएको छ । भिरालो पाखामा ट्रयाक्टर नजाने बारी जोत्न निशुल्क रुपमा गोरु पाउँदा किसानहरू खुशी भएका छन्।

धेरै गाईगोरुहरू अवैध रूपमा सीमापार लैजाने समेत गरिएको बताइन्छ । गाई गोरु ओसारपसारमा संलग्न सवारी चालक र चरुवा पक्राउ परे पनि मुख्य तस्करहरूलाई भने कारबाहीमा पर्ने गरेका छैनन् । एकल प्रयासले यो समस्या समाधान गर्न नसकिने भएको  हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*