हेटौंडा सडक विस्तारमा विवाद : आज सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौंडा टुडे
२०८२ पुष २, बुधबार १२:१७ गते

हेटौंडा । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तार विवादको रिट माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। हेटौंडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको हो।

रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकार समेतले दायर गरेको उक्त रिट माथि सर्वोच्चको इजलाश नम्बर ६ को (च) नम्बरमा रिट निवेदन माथि सुनुवाई हुनेछ ।  सर्वोच्चका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्धाको पेशी तोकिएको हो ।

सडक सिमा क्षेत्र २५-२५ मिटर (हाल २५-२५ गज) भित्रको संरचना हटाएर सडक विस्तारका गर्दा व्यक्तिगत सम्पत्तीमा हस्तक्षेप भएको भन्दै नेतृ कंसाकार लगायतका निवेदकहरुले  हेटौंडा बजार क्षेत्रको सडक विस्तार विरुद्ध गत मंसिर १६ मा मुद्धा दर्ता गरेका थिए । उक्त रिट माथि मंसिर १९ मा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको थियो । मंसिर १९ गतेः न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गर्दै तत्कालका लागि निवेदकको संरचना नभत्काउन वा यथास्थितिमा राख्न ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो । साथै, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । त्यस्तै मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले ‘अन्य आदेश’ गरेको थियो । उक्त आदेश अनुसार सो मुद्धासंग सम्बन्धीत मिसिल झिकाउने आदेश गर्दै आज पुस २ गतेका लागि पेशी तोकेको थियो ।

उक्त मुद्धामा निवेदकले डिभिजन सडक कार्यालय  हेटौंडा,  हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*