हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकाबाट सेवा सुविधा लिन पूर्ण सरसफाइमा ध्यान दिनु पर्ने शर्त राख्दै ‘शौचालय कार्ड’ लाइ अनिवार्य बनाएको छ । पालिकाले हालै शौचालय परिचयपत्र जारी गर्दै पूर्ण सरसफाइ परिवार नभए सेवाबाट वञ्चितसम्म गर्ने तयारी गरेको छ । पालिकाले राक्सिराङ- ३ मा दोस्रोपटक शौचालयक कार्ड वितरण गर्दै पालिकाभर यसलाई लागू गरिन लागेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अनुुुसार ‘पालिकामा ८६ वटा टोलमा यो कार्ड विरतण हुँदैछ, यसपछि पालिकाले शौचालय पत्र नहुनेलाई सेवा नै रोक्ने नीति लिइएको छ ।’ पालिका पूर्ण सरसफाइ युक्त बनाउने अभियानका लागि यो नीति लिनु परेको उनले बताएका छन ।
राक्सिराङ-३ को लाउती, औले, कोलाङ्तीलाई पूर्ण सरसफाइउन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम गरेर शौचालय पत्र लागू गरिएको हो । वडाको एउटा विद्यालय र १३९ घरमा ‘ एक घर–एक–धारा–एक मिटर–एक फिल्टर–एक करेसाबारी’ अभियान सफल भएको घोषणा गरिएको छ । बस्ती पूर्ण सरसफाइ टोल घोषणासँगै शौचालय पत्रलाई अनिवार्य गरिएको हो । आरआरएन संस्थाको सहजीकरणमा स्थानीयको घरमा शौचालय, सरसफाइका लागि मिटर, फिल्टर, करेसाबारी व्यवस्थापनको काम भएको छ ।
खुला दिशा मुक्त घोषणा गरेको १२ वर्ष बित्दा पनि शौचालय बनाउनुहोस् भनिरहनपरेको हुनाले पनिशौचालय कार्ड लागू भएको बताइएको छ । यो नभएमा पाइरहेको सुरक्षा भत्तासमेत रोक्नुपर्ने हुनसक्छ, त्यसका लागि वडाले सिफारिस नगर्न सक्ने पनि बताइएको छ । वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबाले आफ्नो वडा, बस्ती सरसफाइयुक्त बनाइएको बताए ।
सरसफाइ अभियानको भवन निर्माणका लागि स्थानीय दलबहादुर स्याङतानले १० धुर जग्गा उपलब्ध गराएका थिए । उनी दिवंगत भएपछि पत्नी राममाया स्याङ्तानलाई पालिका अध्यक्ष मल्लले दोसल्ला ओढाएर सम्मान गरे ।
अभियानका लागि स्थानीय जुटेको र आर्थिक तथा प्राविधिकरुपमा आरआरएनले सहजीकरणले गरेकार बस्ती पूर्णसरसफाइयुक्त उन्मुख भएको समितिका अध्यक्ष बाबुलाल स्याङ्तानले बताए ।


















