हेटौंडा । मकवानपुरको हेटौंडामा १२ औं ‘सडक खाना महोत्सव’ यही पुस १३ गतेदेखि सुरु हुने भएको छ ।
मकवानपुर होटल एसोसिएसनको आयोजनामा हुन लागेको सडक खाना महोत्सव हेटौंडा–४ स्थित हुप्रचौर खेल मैदानदेखि पूर्वतर्फको उत्तर दक्षिण सडक क्षेत्रमा चार दिनसम्म सञ्चालन हुनेछ । “सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव बारे बुधबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सव आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको अध्यक्ष दिलिस गोविन्द जोशीले जानकारी दिए । महोत्सवमा पौराणिक संस्कृतिदेखि आधुनिकसम्मका विभिन्न जातीय परिकारहरू एकै स्थानमा पाउन सकिने आयोजकले जनाएको छ ।
महोत्सवमा करिब ६० वटा स्टलहरु रहनेछ । रैथाने परिकारका १० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ भने अन्य स्टलका लागि चार दिनको १० हजार रुपैयाँ शुल्क तोकिएको छ । महोत्सव सञ्चालनको अनुमानित लागत खर्च करिब १५ लाख ७२ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । महोत्सवबाट ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा स्थानीय तथा बाहिरी जिल्लाका साथै सीमावर्ती छिमेकी भारतबाट समेत अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको छ ।


















